Sunday, June 21, 2015

तनावले रोग बढाउँछ, होसियार !

आफूले आँटेको केही काम पूरा नहुँदा वा सोचेको कुरा नपुग्दा मानिसलाई तनाव हुने गर्छ । आफुले केही राम्रो गर्न खोज्दा खोज्दै पनि त्यो नहुँदा तनाव हुनु स्वभाविक हो तर धेरै तनाव लिएपछि विभिन्न प्रकारका रोग लाग्ने देखिएको छ ।

बढी तनाव लिँदा अल्सर जस्ता रोग लाग्न सक्ने भएकाले सचेत हुन विज्ञले सुझाएका हुन् । मनोविमर्शकर्ता दृष्टि गुरुङका अनुसार मन र शरीरबीच सम्बन्ध हुने भएकाले बढी तनाव हुँदा एसिडिटी, उच्च रक्तपात लगायतका समस्या उत्पन्न हुन्छ र यसले अल्सर र मुटुको रोग पनि लाग्न सक्छ । त्यसैले आफ्नो दैनिकीमा हानी गर्ने गरी तनाव बढ्नु अघि नै यसको उपचार खोज्नु आवश्यक छ ।
तनाव बढेको कसरी थाहा पाउने ?

निद्रा नलाग्ने, खाना नरुच्ने, शरीरको विभिन्न भाग दुख्ने, जोर्नी दुख्ने, वाकवाक लाग्ने, मुटु ढुकढुक हुने, एक्लै भएको मशसुश हुने, धेरै रिस उठ्ने, चिटचिटापन बढ्ने, सुत्न नसक्ने र खान समस्या हुनु तनावका लक्षण हुन् ।

जीवनमा हुने उतारचढावका कारण पनि धेरैले तनाव लिने गरेका छन् । तनाव धेरै हुँदा व्यक्तिमा विभिन्न प्रकारका परिवर्तन आउँछ । चाहेर होस् वा नचाहेर उसको व्यवहार, सोचाई र शारीरिक रुपमा परिवर्तन हुन्छ ।
व्यवहारिक परिवर्तन

काम गर्न मन नलाग्ने, मन लागेपनि ध्यान दिन गाह्रो हुने, जीवनप्रति हरेस खाने, मादक पदार्थ धेरै खान थाल्ने । सबैभन्दा पहिले त समस्याको समाधान खोज्नु नै उपयुक्त हुन्छ । तर समयमा उपाय ननिस्किए तनाव बढ्नु स्वभाविक हो । यहि तनाव बढ्दा एसिडिटी, उच्च रक्तपात, अल्सरसँगै मुटु सम्बन्धी समस्या सुरु हुने भएकाले सचेत हुनु आवश्यक छ । तनावबाट मुक्त हुन के गर्न सकिन्छ त ?

तनाव कम गर्ने उपाय पनि व्यक्तिको इच्छा र व्यवहारमा भर पर्छ । उसको रुची अनुसारका काम गर्दा पनि तनाव कम हुन्छ । त्यसैले आफुलाई खुसी मिल्ने कामको पहिचान गर्ने । तनाव कम गराउन यसले मद्दत गर्छ । मनको भार, दुःख, पीडा बिर्साउन सहयोग हुने काम गर्दा पनि तनाव कम हुन्छ ।
योसँगै अरु के गर्ने त ?
सकेसम्म पहिले कै दैनिकीमा फर्कने ।
समस्याबाट भाग्ने भन्दा पनि जुध्न सिक्नुपर्छ ।
आफ्नो मनमिल्ने व्यक्तिसँग कुरा साट्ने ।
आफुलाई सन्तुष्टि मिल्ने काम गर्ने ।
घुम्न जाने, रमाइलो गर्ने, पहिलेका कुरा सम्झने, साथीभाई भेट्ने, गीत सुन्ने, चित्र बनाउने, अरुलाई सहयोग गर्ने, जुन काम गर्दा तपाईंलाई आत्मसन्तुष्टि मिल्छ त्यहि काम गर्ने ।

ध्यान, योग वा आफुलाई मनपर्ने कुनै काम गर्दा अथवा आप्mनो समस्या अरुसँग साट्दा पनि तनाव कम हुने मनाविमर्शकर्ता गुरुङको भनाई छ । दैनिकीमा परिवर्तन आउने गरी एक महिना भन्दा धेरै समय तनाव बढे मनोचिकित्सक वा मनोविमर्शकर्ताकोमा सल्लाहको लागि जानुपर्छ ।

। उज्यालोअनलाइन

भुकम्पपछि सिन्धुपाल्चोकका ३४ हजार स्थानीय उच्च जोखिममा

सिन्धुपाल्चोक 
भूकम्पको विपत्तिले सिन्धुपाल्चोकमा ३४ हजारजनालाई जोखिममा पारेको छ। भूकम्पले चर्काएको जमिनमा पहिरो जाने खतराले ६८ गाविस र दुई नगरपालिकामध्ये ५८ गाविसका बस्ती जोखिममा परेका हुन्।
 
भूकम्प प्रभावित संसदीय क्षेत्रमा राहत पुनस्र्थापनामा सघाउन, अनुगमन गर्न र सरकारलाई सुझाव दिन तयार गरिएको प्रतिवेदनमा आठ हजार ६५ घरधुरीका ३४ हजार दुई सय ६५ जना जोखिममा रहेको उल्लेख छ। 



 
गाविसस्तरीय सर्वदलीय संयन्त्र, गाउँमा खटिएका सुरक्षाकर्मी, गाविससचिव, सभासद्सहित विज्ञको टोलीको स्थलगत भ्रमण र स्थानीय बासिन्दाको रायसुझावका आधारमा जोखिममा रहेका बस्ती पहिचान गरिएको हो।
 
सभासद् अग्नि सापकोटा, मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ, अमृतकुमार बोहोरा, ल्हाक्र्याल लामा, रमेशकुमार लामा, प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी, स्थानीय विकास अधिकारी महेश बरालसहित विज्ञ र अन्य सरोकारवालाले जोखिममा रहेका बस्ती पहिचान गरी प्रतिवेदन तयार पारेका हुन्।
 
प्रतिवेदनमा जोखिममा रहेका मानिसलाई स्थानान्तरण गर्न सम्बन्धित गाविस वा नजिकको गाविसमा सिफारिस गरिएको छ। 
 
त्यस्तै चार महिनालाई पुग्ने खाद्यान्न सम्बन्धित निर्वाचन क्षेत्रमा भण्डारण गर्न पनि सरकारलाई सुझाव दिइएको खबर अन्नपुर्णपोष्टले छापेको छ । 
 
सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ का २५ मध्ये १२ गाविसका ४२ वटा बस्तीका एक हजार आठ सय ४६ घरधुरीका चार हजार दुई सय १० जनालाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ। 

त्यसैगरी क्षेत्र नम्बर १ का पाँच हजार दुई सय ११ घरधुरीका २५ हजार १५ जना र क्षेत्र नम्बर ३ का २० गाविसका एक हजार आठ घरधुरीका पाँच हजार ४० जनालाई स्थानान्तरण गर्न सुझाव दिइएको छ। 
 
फुलपिङकट्टी गाविसका नौवटै वडाका तीन हजार नौ सयजनालाई स्थानान्तरण गर्न सुझाइएको छ।
 
'वर्षात्को पानी चिरा परेका ठाउँबाट भित्र पसेपछि जान सक्ने पहिरोलाई ख्याल गर्दै हामीले स्थानान्तरण गर्न सिफारिस गरेका हौं', आफ्नो निर्वाचन क्षेत्रका २५ वटै गाविसको स्थलगत भ्रमण गरेका सभासद् सापकोटाले भने। 

भुकम्पपछि सिन्धुपाल्चोकमा बढ्यो महिला बेचविखन

उनलाई घर जान हतार थियो। त्यसैले भक्तपुर प्रहरी परिसरमा बुधवार बिहान ७ बजे नै भेट्न बोलाइयो। टाढैबाट आएजस्तो पुट्ट झोला बोकेकी उनी फुपूको छोरा कुमार गिरीसँग निन्याउरो मुख लाउँदै प्रहरी कार्यालयको प्रतीक्षालयमा लुसुक्क आइन्। प्रहरी परिसरमै कार्यरत ठूलोबुबाको छोरा निरबहादुर खत्री व्यस्त रहँदा उनको अत्यास पोखिन्थ्यो। 'कता जानुभयो दाइ?' भन्दै उनी चारैतिर नियाल्थिन्।

सिन्धुपाल्चोककी कमला खत्री (नाम परिवर्तन) नुवाकोट, शिखरबेसीका सुमन तामाङसँग भागेकी थिइन्। सुमनले उनलाई फकाउँदै, फुलाउँदै पत्तो नदिएर भारत, मेघालय पुर्या एको थियो। त्यहाँ पुगेपछि थाहा पाइन्– उनको दुलाहा त दलाल रहेछ। उनी छाँगाबाट खसेझैँ भइन्।

सुमनले विवाहको बहाना बनाएर कमलालाई मेघालय पुर्यातएर बेचेको थियो। सुमनले कमलालाई दिल्लीबाट आएको अर्को दलाल समूहलाई बुझाउँदै गर्दा मेघालयमा होटल चलाउने संगीता श्रेष्ठले उनलाई जोगाएकी थिइन्। दाइहरू निरबहादुर र कुमार मेघालयमा बेचिएकी बहिनीलाई उद्धार गरी स्वदेश फर्काउन सफल भए। 'उहाँ (संगीता) ले पहल नगरेको भए बहिनीको अत्तोपत्तो हुन्थेन,' निरबहादुर बहिनीलाई सकुशल फर्काउन सकेकोमा खुशी छन्, 'मुख्य दलालको हातमा पर्न नपाउँदै धन्न बहिनीलाई जोगाउन सक्यौँ।'

एक छापाखानामा काम गर्दागर्दै परिचय भएको हो, सुमन र कमलाको। चिनजान भएको दुई महिनापछि सुमनले विवाहको प्रस्ताव राख्यो। धेरै पटकको प्रस्तावपछि स्विकारेकी कमलाले सुमन केटी बेच्ने दलाल होला भन्ने कल्पनासम्म गरिनन्। 'हेर्दा धेरै सोझो थियो,' उनी पछुताउँदै छिन्, 'उसलाई कुनै पनि नजरले गलत नठान्नु मेरो भूल भयो। अहिले चेत खुल्दै छ।'

सुमनले १८ वर्षीया कमलालाई भक्तपुरबाट भगाएर काठमाडौँ ल्यायो। दाइको कोठामा दुई दिन राखेपछि 'सस्तो र राम्रो' कपडा किन्ने निहुँमा चितवन पुर्यालयो। त्यसपछि भारतमा दुई वर्ष बसेर फर्कने भन्दै फकाएर उता लग्यो। मेघालय पुर्यािएपछि दिल्लीबाट आएको दलाल समूहलाई थमाउन खोज्दै थियो। उनले बल्ल चाल पाइन्, आफू बेचिएको। 'दिल्लीबाट आएकी सुमनकी दिदी बताउने केटीले मलाई लान खोजी। म जान्नँ भन्दा उसले 'सुमनबाट ५० हजारमा तँलाई किनिसकेँ' भनी,' उनले त्यो क्षण सम्भि्कइन्, 'त्यसपछि मात्र म बेचिएछु भन्ने थाहा पाएँ।' उनीहरूले जबर्जस्ती लैजान खोज्दै थिए। होटल सञ्चालक संगीताले थाहा पाएर 'प्रहरीलाई भन्दिन्छु' के भनेकी थिइन्, दलालहरूले कुलेलम ठोके नागरिक न्युजको अनलाइनमा खबर छ । 

मेलम्चीका राजकुमार तामाङले उठाए काठमाण्डाैमा धरहरा

काठमाडौँ : वैशाख १२ को भूकम्पले २ सय ३ फिटभन्दा अग्लो धरहरा गर्ल्यामगुर्लुम ढल्यो। सम्पदा त अरु पनि ढलेका थिए धरहराभन्दा धेरै पुराना पनि। तर अधिकांशको चासो धरहरामै रह्यो। सामाजिक सञ्जालमा ठुटो धरहरा राखेर 'वि विल राइज अगेन' पोस्ट गर्नेहरु धेरै थिए। पत्रपत्रिकाले समेत धरहराकै फोटो राखेर चन्दा संकलन गरे। धरहरा एउटा सम्पदा मात्र थिएन, काठमाडौँको अधिकांश ठाउँबाट देखिने एउटा प्रतीक पनि थियो। अब यो त्यसरी टाढाबाट हेर्दा देखिन्न।


 धरहरा फेरि बन्ला, नबन्ला निश्चित छैन। तर ठ्याक्कै धरहरा जस्तै देखिने एउटा फुच्चे धरहरा भने साँच्चिकैको धरहरा रहेको ठाउँभन्दा अलि टाढा बनेर तयार भइसकेको छ। यो बनाउने मेलम्ची घर भएका राजकुमार तामाङले यसलाई विश्वासको धरहरा भन्न रुचाउँछन्। १२ फिट अग्लो यो धरहरा बनाउन पाँच लाख खर्च भएको छ। धरहराको स्तम्भ मात्र हैन, भर्याङ, नजिकैका पर्खालसमेत दुरुस्त बनाइएको छ। क्यास्ट्रोल लुब्रिकेन्ट्सले लगानी गरेको यो धरहरा बनाउन तामाङलाई १४ दिन लाग्यो। उनका अनुसार यसभित्र तीन वटा रड प्रयोग गरिएको छ। फुच्चे धरहराको मुनि हात्तीपाइले (ढलान गर्दा गिट्टी, सिमेन्ट र बालुवाको घोल प्रयोग गरी हात्तीको पाइला जस्तै ठूलो बनाइएको आधार) पनि राखिएको उनी बताउँछन्। वास्तविक धरहरा भने ईटा र बज्र (सुर्की, चून, मास र चाकुको मिश्रण) बाट बनेको थियो।  
तस्विर: पहिलोपोष्टबाट

Saturday, June 20, 2015

गलत विवरण टिपाएर राहत लिने कर्मचारी खोरमा



असार ५ मेलम्ची । 
गलत विवरण दिएर राहत रकम लिएको आरोपमा सिन्धुपाल्चोकको स्याउले गाबिसका कार्यलय सहायक राज बहादुर श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले गलत विवरण दिएर छोराको नाममा परिचय पत्र लिएको प्रशासनले जनाएको समाचार रेडियो मेलम्चीले प्रकाशन गरेको छ । गलत बिबरण दिएर भुकम्प पिडीत परिचय पत्र तथा अस्थायी बासस्थानका लागी १५ हजार रुपैया रकम लिनेको सिन्धुपाल्चोकमा लर्को लाग्न थालेपछि प्रशासनले कारबाही थालिएको हो ।



जिल्ला दैबी प्रकोप उद्धार समिति सिन्धुपाल्चोकद्धारा गठित अनुगमन तथा स्थानीयले दिएको जानकारीका आधारमा प्रशासनले कारबाही प्रकृया सुरु गरेको हो । सिन्धुपाल्चोकका बिभिन्न गाबिस तथा नगरपालिकाका वडाहरुमा समेत अनुगमन समितिले अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा गलत बिबरण दिएर परिचय पत्र लिने र १५ हजार रुपैँया राहत लिनेलाई ठगी मुद्धा चलाउने प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जानकारी दिए । सरकारले अन्यत्र घर भएका वा आँशिक क्षती भएकालाई क वर्गको परिचय पत्र दिने ब्यबस्था गरेको छ । सिन्धुपाल्चोकमा राजनीतिक दलका प्रतिनीधि, वडा नागरिक मञ्च र गाउँका अगुवाहरुलेनै भिन्न नभएकाहरुलाई भिन्नै बसेको भनि सिफारिस गर्ने र परिचय पत्र दिन दबाब दिने गरेपछि अनुगमन गर्न थालिएको हो । गलत ब्यक्तिलाई परिचय पत्र दिन सिफारिस गर्ने र परिचय पत्र लिने दुबैलाई कारबाही गरिने जिल्ला दैबि प्रकोप उद्धार समिती सिन्धुपाल्चोकले जनाएको छ । 

दृष्टिविहिन निरबहादुरले ल्याए ८३ प्रतिशत, सुमित्राले ल्याइन ७९ प्रतिशत

असार ५ चौतारा । 
सिन्धुपाल्चोकका एक दृष्टि बिहिन छात्रले बिशिष्ट श्रेणीमा प्रवेशिका परिक्षा उत्तिर्ण गरेका छन् ।जिल्लाको लिसंखु ५ निबासी निर बहादुर श्रेष्ठले ८३ प्रतिशत अंक सहित बिशिष्ट श्रेणिमा एसएलसी उत्तीर्ण गरेका हुन् ।  अशक्तहरूका लागि सञ्चालीत बिशेष शिक्षा कार्यक्रम अन्तर्गत बनदेबी माबि चौताराबाट श्रेष्ठले बिशिष्ट श्रेणीमा उत्तीर्ण गरेको खबर रेडियो मेलम्चीको अनलाइनमा प्रकाशित भएको छ ।  साधारण परिक्षार्थीहरुसंगै परिक्षामा सहभागी श्रेष्ठको उच्च शिक्षा अध्ययनमा विज्ञान विषय छनोट गर्ने विचार भएपनि विज्ञान बिषय त्यति सहज भने नभएको सिन्धुपाल्चोक नेत्रहिन संघका अध्यक्ष सोमकुमार दुलालले जानकारी दिए। श्रेष्ठको पारिबारिक अबस्था पनि अत्यन्त नाजुक रहेको बताउँदै दुलालले उनको अस्थायी आबास निर्माणका लागी संघले फलामे छड, जस्तापाता, निर्माण सामाग्री  बितरण गरेको छ । यस्तै कुबिण्डे निबासी अर्का दृष्टि बिहीन सुमित्रा ढ्ङगाना पनि ७९ प्रतिशत नम्बरका साथ उत्तिर्ण हुनुभएको छ ।









मामा नै दलाल भएपछि ..


असार ०५ , सिन्धुपाल्चोक इचोक गाविसका निमा तामाङ, सूर्यमान तामाङ र मङ्गले तामाङले आफ्ना छोरीहरु हराएको भन्दै खोजिदिन गत जेठ २४ गते माइती नेपालमा निवेदन दिएका थिए ।


घरबाट सहमतिमै दुबई जाने भनेर स्थानीय दलाल नातामा मामा पर्ने अशोक तामाङको साथ लगाएर उनीहरुले आफ्ना छोरीहरु कान्छीमाया तामाङ, आरती तामाङ, मायाँ तामाङ, सुष्मा तामाङ, सुनिता तामाङलगायत आठ जनालाई काठमाडौँ पठाएका थिए । 


काठमाडौँ आएलगत्तै सम्पर्कविहीन भएपछि अभिभावकले छोरी खोजिदिन निवेदन दिएर प्रहरीको सहायताले खोज्दै जाँदा दुबई लैजाने भन्दै झुक्याएर भारततर्फ लैजान लागेको अवस्थामा हेटौँडाबाट नेपाल प्रहरी, माइती नेपाल मानव बेचबिखनसम्बन्धी सञ्जालले नियन्त्रणमा लिएको माइती नेपालका निर्देशक विश्वराम खड्काले जानकारी दिए।

उनले हेटौँडा बसपार्कमा केही शङ्कास्पद युवती देखेर प्रहरी र आफूहरुले सोधखोज गर्नथालेपछि उनीहरुलाई त्यहाँसम्म पुर्‍याउने अशोक भने फरार भएको र युवतीलाई बिहीबार काठमाडौँ ल्याई आफूहरुको संरक्षणमा राखिएको जानकारी दिए।

विभिन्न प्रलोभनमा पारेर भूकम्प प्रभावित जिल्लाका युवतीलाई अहिले अवैधरुपमा भारत र तेस्रो मुलुक लैजान थालेपछि माइती नेपालले अहिले काठमाडौँबाट बाहिरिने नाका र भन्सार नाकामा आफ्नो गतिविधि बढाउँदै लगेको छ । यस क्रममा भूकम्पपछि मात्र अवैधरुपमा विदेश लैजान आगेको अवस्थामा अहिलेसम्म ३२२ जनाको उद्धार गरिसकेको जनाएको छ ।

युवतीका अनुसार उनीहरुलाई काठमाडौँबाट भैंसे मकवानपुर हुँदै हेटौँडा पुर्‍याइएको र त्यहाँबाट काँकडभिट्टा हुँदै भारतको बैङ्गलोर जाने र त्यहाँका १५÷२० दिन बसेपछि सम्पूर्ण प्रवेशाज्ञा प्रक्रिया पूरा गरी दुबई लैजाने भनिएको थियो । उनीहरुको सबैको राहदानी समेत अशोकले नै लिएर फरार भएका छन् ।

काठमाडौँ दक्षिणकाली हुँदै हेटौँडा लैजाँदा कसैले पनि शङ्का नगर्ने र पक्राउ नपर्ने भएकाले दलालले नयाँ बाटो प्रयोग गरेको प्रहरीको भनाइ छ । पछिल्लो समयम दक्षिणकाली हेटौँडा तथा विपी राजमार्गको बनेपा बर्दिवास हुँदै पनि युवतीको तस्करी बढेकाले उक्त ठाउँमा समेत नयाँ अस्थायी चेकपोस्ट खडा गरी जाँचमा कडाइ गरिएको प्रहरीको भनाइ छ ।

पीडित आरती तामाङले शुक्रबार माइती नेपालको कार्यालयमा सञ्चारकर्मीसँग भनिन्, “भूकम्पपछि नेपालबाट विदेश जान नमिल्ने भन्दै अशोकले सबै प्रक्रिया भारत गएर गर्नुपर्ने भएकाले भारत जानुपर्ने बताएको थियो ।”

उनले भनिन्, “मामाको विश्वासमा परी बुबाले हामीलाई पठाउनुभयो, तर, उहाँको नियत खराब रहेछ अहिले आएर थाहा भयो, अब यतै बस्ने सिकाइ सिक्ने अनि गाउँका अन्य दिदीबहिनीलाई पनि दलालको लहैलहैमा लागेर विदेश नजान सचेत गराउँछु ।”

किशोरीहरुको राहदानीसमेत तिनै दलाल अशोक तामाङले नै बनाइ दिएको पीडित युवतीले बताए ।

उनीहरु परिवारकै सहमतिमा जान लागेका भनिएपनि दलालमार्फत गैरकानुनी तरिकाले भारतको बैङलोर हुँदै दुबई लैजान खोजिएकाले उद्धार गरिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालका निर्देशक खड्काले आफन्त पर्ने दलाल अशोकमार्फत आठजना विदेश जान लागेका र काभ्रे अनिकोटकी कान्छीमाया तामाङलाई भने दलालले घुम्न जाउँ भनेर फकाएको पाइएको बताइन्।

कान्छीमाया यसअघि पनि मलेसिया बसेर आएकाले घुम्न नभई उनीहरुलाई विदेश पठाउन सहयोगीको भूमिका खेलेको आशङ्का माइती नेपाल र प्रहरीले गरे पनि उक्त कार्यमा उनको संलग्नता भए नभएको यकिन भएको छैन । रासस