Friday, June 12, 2015

अपर तामाकोशीको सेयर बाँडियो, अावेदक सबैले कम्तीमा ५० कित्ता पाए

३० जेठ ।
नागरिक लगानी कोषले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा प्रवर्धकका लागि निष्काशन गरेको सेयर बाँडफाँड गरेको छ ।
दोलखामा आयोजना स्थल रहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा नेपाल टेलिकम, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बिमा संस्थानले लगानी गरेका छन् ।
सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष र सहप्रबन्धक एनसिएम मर्चेन्ट व्याङ्किङ एन्ड फाइनान्सले आज पत्रकार सम्मेलनको आयोजना गरी सेयर बाँडफाँड गरेको जनाएको हो ।
कर्मचारी सञ्चय कोषका प्रत्येक सञ्चयकर्तालाई चार लाख न्यूनतम् ९५ कित्ता सेयर प्राप्त गरेका छन् । कुल चार लाख ५१ हजार सञ्चयकर्तामध्ये सो आयोजनामा केबल एक लाख ९१ हजार ९५९ ले मात्रै आवेदन दिएका थिए ।
यस्तै कर्मचारी सञ्चय कोषका ४८० जना कर्मचारीलाई प्रतिकर्मचारी तीन हजार १७७ कित्ता सेयर प्राप्त गरेका छन् । नागरिक लगानी कोषका १०७ जना कर्मचारीले दुई हजार ८५० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।
बिमा संस्थानका १९१ जना कर्मचारीलाई प्रतिकर्मचारी एक हजार ५९६ कित्ता सेयर प्राप्त भएको छ । नेपाल विद्युत् प्राधिकरण र आयोजना निर्माणकर्ता कम्पनीका नौ हजार ७५४ जना कर्मचारीलाई प्रतिकर्मचारी ४१६ कित्ता सेयर प्राप्त गरेका छन् ।
नेपाल टेलिकममा कार्यरत पाँच हजार ५५० जना कर्मचारीलाई प्रतिकर्मचारी १६४ कित्ता सेयर प्राप्त गरेका छन् ।
लगानीकर्ता कम्पनीलाई कुल दुई करोड ५४ लाख १६ हजार कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषका निर्देशक रामकृष्ण पोखरेलले जानकारी दिए ।
सेयर बाँडफाँड अनुसार ५० कित्ता सेयर माग गर्नेले शतप्रतिशत प्राप्त गरेका छन् भने पाँच हजार कित्ता आवेदन गर्नेले २९३ कित्ता प्राप्त गरेका छन् ।
गत चैत ११ गतेदेखि वैशाख १५ गतेसम्म तीन करोड ६० लाख छ हजार कित्ता सेयरमा आवेदन गर्न आग्रह गरिएको थियो । आयोजना प्रभावित जिल्लाका लागि छुट्टयाइएको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर भने केही समयपछि निष्कासन गरिनेछ ।
आयोजनामा संस्थापकका रुपमा नेपाल विद्युत् प्राधिकरणसँग ४१ प्रतिशत सेयर रहेको छ भने नेपाल टेलिकमको ६ प्रतिशत, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषसँग दुई÷दुई प्रतिशत सेयर रहेको छ ।
आयोजनामा प्रवर्द्दक चार संस्थाले रु २२ अर्ब ऋण प्रदान गरेको छ । त्यसमा सञ्चय कोष एक्लैले रु १० अर्ब ऋण लगानी गरेको छ । आयोजनाको कूल लागत रु ३५ अर्ब २९ करोड रहेको छ ।
मुलुककै मुहार फेर्ने आयोजनालाई प्रत्यक्ष रुपमा सहयोग गर्न पाउँदा आफूहरुलाई पनि गौरवको महशुस भएको कोषका निर्देशक पोखरेलले बताए । आयोजना २०७३ साल असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि भूकम्प र अन्य कारणले गर्दा आयोजना करिब छ महिना ढिला सम्पन्न हुने भएको छ । रासस

No comments:

Post a Comment