पाङताङ (सिन्धुपाल्चोक) कात्तिकेका धनबहादुर श्रेष्ठलाई राति पानी पर्न थालेपछि निद्रा लाग्दैन।
ब्रह्मायणीमा बाढी आउँदा कात्तिके बजार थर्किएर हुने तनाव उनका लागि नयाँ होइन। तर वैशाख १२ गतेको भूकम्पले कात्तिके बजार क्षेत्रमा धाँजा मात्रै फाटेको छैन, ब्रह्मायणीमा पहिरो पनि खसिरहेको छ।
'बजारको तलतिर पहिरो र माथितिर धाँजा फाटेको छ। पानी पर्न थालेपछि निद्रा लाग्दैन, रातभरि जागै बस्नुपर्छ', श्रेष्ठ भन्छन्।
कात्तिके बजारमा २० वर्षअघि पाँच घर मात्रै थिए, अहिले कात्तिकेमा सय घर छन्। ०३९ साउन १७ गते ब्रह्मायणी र सुब्लिङ खोलालाई पहिरोले पुरेपछि गोल्चे फलामसाँघुमा रहेको बजार बगाउँदा ९७ जनाले ज्यान गुमाएका थिए अन्नपुर्णपोष्टमा खबर छ ।
'त्यतिबेला त्यहाँ बगाएका मानिस पनि निकाल्न सकिएन', स्थानीय अगुवा रामबहादुर गुभाजु सम्झन्छन्। त्यसअघि पाङताङ, गोल्चे र गुम्बा गाविसको बजार त्यही गोल्चे फलामसाँघुमा थियो।
फाइल फोटो |
गोल्चे फलामसाँघुमा प्रहरी चौकी, हुलाकसहितका सरकारी कार्यालय र व्यक्ति गत घरहरू बगाएपछि करिब पाँच सय मिटरमाथि कात्तिकेमा बस्ती बस्न थालेको हो।
०४१ देखि कात्तिकेमा घरहरू बन्न थालेका हुन्। 'म ०५१ मा यो बजारमा आउँदा पाँचवटा मात्रै घर थिए', भूकम्पपछि पनि कपडा पसल सञ्चालन गर्दै आएका रामबहादुर गुभाजुले भने।
अहिले त्यहि कात्तिके बजार पनि पहिरोको जोखिममा परेको छ। कात्तिकेमा भूकम्पले घरहरू ढलाएको मात्रै छैन, तीनजनालाई सधैंका लागि बिदा गरेको छ। पाङताङ गाविसको वडा नम्बर १ मा पर्ने कात्तिके तीनवटा गाविसको केन्द्र हो।
स्थानीय रामहादुर गुभाजूका अनुसार भूकम्पको कम्पनले पाङताङ गाविसमा ३१ जनाले ज्यान गुमाएका छन्। सो क्षेत्रको अवलोकन गरेका सभासद अग्नि सापकोटाका अनुसार कात्तिके बजारलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ।
सापकोटा भूकम्प गएको एक साताभित्रै कात्तिके बजार पुगेका थिए। रामबहादुर गुभाजू भने सकेसम्म कात्तिकेबाट स्थानान्तरण हुने पक्षमा छैनन्। '०४५ मा मैले मधेसमा साढे दुई बिघा जग्गा किनेर पनि त्यत्तिकै छोडेर हिँडेको हुँ।
म अहिले पनि कात्तिके छोड्नु हुन्न भन्ने अडानमा छु। मेरै अडानका कारण अरू पनि बसिरहेका छन्', रामबहादुर भन्छन्।
उनको परिवारको सदस्य संख्या १२ जनाको छ। कात्तिके बजारदेखि माथितिर सडक पुगेको छैन। जलविद्युत् परियोजनाले केही वर्षअघि कात्तिकेसम्म सडक खनेको हो। कात्तिकेबाट दुई दिन हिँडेपछि बल्ल गुम्बा गाविसको तेम्बाथान पुगिन्छ।
तेम्बाथान मानव बस्ती रहेको अन्तिम गाउँ हो। भूकम्प आएयता तेम्बाथानका शेर्पाहरू कात्तिके बजारमा देखिएका छैनन्। 'त्योभन्दा पहिला तेम्बाथानका मानिसहरू सामान किन्न यहीं आउँथे, अहिले देखिएका छैनन्', रामबहादुर भन्छन्।
गुम्बा गाविसका सामाजिक परिचालक प्रेम तामाङका अनुसार तेम्बाथानका एक सय ६, बोल्देका दुई सय २४, तापगाउँका ३३ र गोन्डेगाउँका ३४ घरधुरी स्थानान्तरण गर्नुपर्नेछ।
परकम्पले गुम्बा गाविसमा ३५ जनाले ज्यान गुमाएका छन् भने एक सय ५० जना घाइते भएका छन्। गुम्बा गाविसमा मात्रै करिब दुई सय खसीबोका र भेडा-च्याङग्रा, ३५ वटा चौरी र ५० वटा गाईभैंसी मारिएका छन्।
तामाङका अनुसार तेम्बाथानबाट कात्तिके झर्ने नेसङखोलाको झोलुंगे पुल पहिरोले चुडालिदिएकाले त्यस क्षेत्रका मानिस कात्तिके आउन नसकेका हुन्। 'तेम्बाथान सम्पर्क-विच्छेद छ। तिब्बत जान पनि हिमालले छेक्छ।
तेम्बाथानबाट चौतारा पुग्न पाँचपोखरी हुँदै पाँच दिन पैदल यात्रा गर्नुपर्छ', तामाङ भन्छन्, 'गुम्बाका मानिसहरू आफ्नो बस्ती छोडेर अन्यत्र बसेका छन्। गाउँको तलमाथि नै धाँजा फाटेको छ।'
गुम्बाको तेम्बाथानमा राहत पुर्याउन हेलिकोप्टरबाहेक अरू माध्यम छैन। हेलिकोप्टरले पु:याएको राहतका आधारमा त्यहाँका बाँकी मानिस त्रासदीपूर्ण जीवन बिताइरहेका छन्। पाँच हजार ७० जनासंख्या रहेको गुम्बा भौगोलिक रूपमा सिन्धुपाल्चोकको सबैभन्दा ठूलो गाविस पनि हो।
गुम्बा गाविसको वडा नम्बर ६ बोल्देका हिराबहादुर तामाङका अनुसार कुनै ठाउँमा पानीका मुहान सुकेका छन् भने कुनै ठाउँमा पानीको नयाँ मुहान देखिएको छ।
'तलतिर पानी बढेको छ भने माथितिर पानी सुकेको छ', हिराबहादुर तामाङले भने 'त्रिपाल हावाले उडाइहाल्यो, वर्षा लागिसक्यो, अब कसरी बस्ने होला?', गुम्बाको जस्तै पाङताङ र गोल्चेमा पनि माथितिर पानीका मुहान सुकेका छन् भने तलतिर पानी बढेको छ।
गोल्चे गाविस वडा नम्बर ७ खुन्द्रुकाका रोशन भुजेलका अनुसार १४ घर रहेको उनको गाउँको बस्ती जोखिममा परेको छ। 'तलमाथि दुवैतिर धाँजा फाटेको छ। खानेपानीको टयांकी फुटेको छ। झोलुंगे पुल भाँचिएको छ', भुजेल भन्छन्।
गोल्चेको वडा नम्बर ३ सन्चगाउँका लकबहादुर गोलेका अनुसार गाउँमा गाउँलेहरू कोही छैनन्, माथितिर पाखोबारीमा बसेका छन्। सन्चगाउँका एक सय ३५ घरधुरीलाई हेलिकोप्टरबाट राहत पु:याइएको छ। 'राति, दिउँसो जतिबेला पनि पहिरो जान्छ।
सन्चगाउँबाट लिदी र निम्लुङ जाने बाटो छैन', गोले भन्छन्, 'भूकम्पको कम्पनले बाटो भत्किएपछि लिदी जान आउन डोरीमा झुन्डिनुबाहेक अर्को बाटो छैन।'
कात्तिकेबाट पाँच घन्टा उकालो चढेपछि लिदी पुगिन्छ। 'तीनवटै गाविसमा बस्नलायक ठाउँ छैनन्। राति पहिरोको आवाज आउन थालेपछि निद्रा लाग्दैन।
पहिरो गइहालेमा पनि भाग्ने ठाउँ छैन', कात्तिके वडा नम्बर १ का संयोजक कुलबहादुर गुभाजू भन्छन्।
वैशाख १२ गते भूकम्प आएपछि सानी नातिनी च्यापेर उभिएको बारीको धाँजा देखाउँदै उनी भन्छन्, 'यसरी धाँजा फाटेको छ, तलतिरबाट खोलाले तानिरहेको छ। हामी कहाँ गएर कसरी बाँच्ने?'
गुम्बा, गोल्चे, पाङताङ मात्रै होइन, सिन्धुपाल्चोकको २ नम्बर क्षेत्रका स्याउले, हगाम, सिम्पाल काभ्रे, बराम्ची, जलबिरे, सेलाङ, बतासे, फुल्पिङकोट, कदमबासका विभिन्न बस्ती जोखिममा छन्।
त्यस्तै सिन्धुपाल्चोक ३ नम्बर क्षेत्रका भोताङ, बरु वा, हैबुङ, इचोक, महाकाल, दुवाचौर, बाँसखर्च, किउल, बाँसबारी, हेलम्बू, थाङपालकोट, सिन्धुकोट, थाङपालधाप, थकनी, गुन्सा, तालामाराङ, भोटेनाम्लाङ, शिखरपुर र ज्यामिरे गाविसका विभिन्न बस्ती जोखिममा छन्।
यसैगरी सिन्धुपाल्चोकको १ नम्बर क्षेत्रका तातोपानी, फुलपिङकट्टी, लिस्तीकोट, मार्मिङ, घुम्थाङ, गाती, मानेश्वारा, बाह्रबिसे, राम्चे, मांखा, फुल्पिङडाँडा, चोकटी, जेठल, पिस्कर, धुस्कुन, कर्थली, घोर्थली, ठूलोधादिङ, अत्तरपुर, सुनखानी, ठोकर्पा, पांग्रेटार, यमुनाडाँडा, कालिका, पेडकु, लिसंखु गाविसका विभिन्न बस्ती जोखिममा परेका छन्।
सिन्धुपाल्चोकका ६८ गाविस र दुई नगरपालिकामध्ये ५८ गाविसका आठ हजार ६५ घरधुरीका ३४ हजार दुई सय ६५ जनालाई स्थानान्तरण गर्नुपर्ने ठहर सभासद्सहित स्थानीय प्रशासनले गरेको छ।
आफ्नो घर छोडेर हिँडेका मानिसहरू कतिपय गाउँनजिकै सुरक्षित मानिएका ठाउँमा छन् भने कतिपय काठमाडौं र भक्त पुरका विभिन्न स्थानमा छन।
सिन्धुपाल्चोक मात्रै होइन, नेपालका १७ जिल्लाका विभिन्न गाउँका बस्तीलाई परकम्पले स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुर्याइदिएको गृह मन्त्रालयको प्रारम्भिक अनुमान छ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अत्यधिक प्रभावित १७ जिल्लामा तीन-तीन जनाको दरले परिचालित भएका भूगर्भविद्को टोलीले प्रतिवेदन ल्याएपछि स्थानान्तरण गर्नुपर्ने जनसंख्या र गाउँको यकिन विवरण थाहा हुनेछ।
'त्यो रिपोर्ट नआई कति गाउँका कतिजनालाई स्थानान्तरण गर्नुपर्ने हो भन्न सकिँदैन', गृहप्रवक्ता ढकालले भने। मनसुन सुरु भइसकेपछि भूकम्पले जोखिममा पुर्याएका गाउँबस्तीमा मानसिक तनाव बढाउँदै लगेको छ।
सदरमुकाम चौतारामा भूकम्पले मानसिक रोगी जन्माएको छ। चौताराका एकजना युवा प्रत्येक १० मिनेटमा 'आयो आयो आयो 'भनेर दौडन्छिन्।
'बाहिर निस्कन्छन्, केही आएको हुँदैन अनि फेरि आफैं ओछ्यानमा सुत्छन्', स्थानीय शिक्षक दीपक राईले भने। भूकम्पले पु:याएको आर्थिक, भौतिक, सामाजिक, नैतिक र मानसिक क्षतिका बारेमा जति चासो हुनुपर्ने हो, त्यति भएजस्तो देखिएको छैन।
बास भत्किएको छ ,गाँस पुरिएको छ, आफन्त गुमेका छन्, आकाश ढाक्ने ओत छैन, पिउने पानीका मुहान सुकेका छन्, सरकारको उपस्थिति शून्य छ।
भूकम्पले भत्काएका भौतिक संरचनाले किचेर भएको मानवीय क्षतिको परिपूर्ति हुन नसकेपछि अन्य क्षतिको परिपूर्ति गराउन चाहिने गतिलो योजना अहिलेसम्म सरकारले बनाउन सकेको छैन।
दाताहरूलाई भूकम्पप्रभावित क्षेत्रको स्थलगत भ्रमण गराएर सम्मेलन गर्ने योजनामा रहेको सरकारले पनि ग्रामिण क्षेत्रको वास्तविक अवस्था खिच्न सकेको छैन।
विपत्तिको घडीमा गाउँ-सहर सबैतिरबाट हातमा हात र काँधमा काँध मिलाएर सबैजना एक ढिक्का भएर अघि बढ्दा मात्रै विपत्तिको सामना गर्न सकिन्छ। यही नै आजको आवश्यकता हो।
No comments:
Post a Comment